झापा: भारतको बिहारसँग सिमाना जोडिएको कचनकवल गाउँपालिकामा अपराधका प्रशस्त घटना घटिरहेको छ ।कचनकवलको राजधानी मानिने बनियानीमा दैनिकजसो सडक दुर्घटना साथै लुटपाटका घटना समेत हुने गरेका छन् ।


 पछिल्लो समयमा बनियानीको मुख्य सडक आसपास राखिएको सिसी क्यामेरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीत बहादुर कार्कीले बताउनु भयो । सिसी क्यामेरा बन्द हुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको उनको भनाइ छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ उनले भने, ‘सिसी क्यामेरा बिग्रीएकाले अनुसन्धानमा असहज भइरहेको छ ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताए ।


केही महिना देखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा कचनकवल गाउँपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण गाउँपालिका आईटी शाखामा छ । प्रहरीका अनुसार अहिले अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको कार्की बताउँछन् । कचनकवलको मुख्य चोक बनियानीमा राखिएका क्यामेरा बिग्रिएको अवस्थामा रहेको उनले बताए । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको बनियानी चोकमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको हो ।